एजेन्सी । इजरायली सेनाले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा बमबारी गर्दा कम्तीमा ३३ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । शरणार्थी शिविरमा गरिएको इजरायली सेनाको बमबारीबाट दर्जनौं प्यालेस्टाइनी घाइते भएका छन् । इजरायली सेनाले उत्तरी गाजाको जबलिया शरणार्थी शिविरहरूमा पछिल्लो २४ घण्टामा बमबारी गर्दा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका हुन् ।
गाजाको सिभिल डिफेन्स अथोरिटीले जारी गरेको एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्र र यसको शिविरमा बमबारी गरेको बताइएको छ । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले घर–घरमा व्यापक बमबारी सञ्चालन गर्यो र ठूलो विस्फोट गराएको थियो । यहाँ बालबालिका र महिला सहित २५ प्यालेस्टिनीहरूको शव निकालेको र ९६ जना घाइते भएका चिकित्सक टोलीले सिन्ह्वालाई बताएका छन् ।
एक विश्वव्यापी चिकित्सा परोपकारी संस्था डाक्टर्स विदाउट बोर्डर्सले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य कारबाहीका कारण हजारौं प्यालेस्टिनी अझै पनि जबलिया क्षेत्रमा फसेको बताइएको छ । गाजामा जारी इजरायली सेनाको आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ४२ हजार एक सय ७५ जना पुगेका छन् ।