काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनर्संरचनाका लागि अध्ययन गर्न बनेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको उपस्थितिमा नार्कमा बुधबार आयोजित कार्यक्रममा उपसमितिका संयोजक डा. टेकबहादुर गुरुङले आफ्नो अध्ययन प्रतिवेदन प्रस्तुत गरे । नार्कलाई कसरी सुधार गर्न सकिन्छ, त्यसलाई पुनर्संरचना गर्नका लागि के के गर्नु पर्छ, त्यसका बारेमा अध्ययन गर्नका लागि कृषिमन्त्री भुसालले तीन सदस्यीय उपसमिति गठन गरेका थिए । कृषि मन्त्रालयले तोकिएको समयमा नै उपसमितिका संयोजक गुरुङले आफ्नो प्रारम्भिक प्रतिवेदन पेस गरेका थिए । तीन महिनाभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्न समयसीमा तोकिएको थियो ।
कृषि मन्त्रालयमा छुट्टै सचिव
कृषि मन्त्रालयमा नार्कका कार्यकारी निर्देशकलाई कृषि अनुसन्धान सचिवका रूपमा राख्नुपर्ने उपसमितिको प्रतिवेदनमा उल्लेख छ । कृषि मन्त्रालयमा कृषि र पशुपन्छीतर्फबाट छुट्टाछुट्टै सचिव छन् तर अनुसन्धानका सचिव छुट्टै नहुँदा काम प्रभावकारी नभएको गुनासो भइरहेकाले उपसमितिको अध्ययनले पनि कृषि अनुसन्धानको छुट्टै सचिव राख्नुपर्ने सुझाव दिएको छ ।
मानित विश्वविद्यालय
त्यस्तै कृषि अनुसन्धानमा मास्टर्स तथा पिएचडीको मान्यता दिनका लागि नार्क अन्तर्गत मानित विश्वविद्यालयको अवधारणा पनि प्रतिवेदनमा उल्लेख छ । यद्यपि नार्कले यसअघि पनि नार्क अन्तर्गत मानित विश्वविद्यालय राख्ने कार्यक्रममा काम गरेको हो । मानित विश्वविद्यालयका लागि भारतले सहयोग गर्ने भनी सम्झौता पनि भएको छ तर ऐन संशोधन नभएका कारण त्यो अगाडि बढेको छैन । वैज्ञानिकको स्तर पनि छुट्याउनुपर्ने प्रतिवेदनले भनेको छ । वैज्ञानिकलाई उपप्रध्यापक, वरिष्ठ वैज्ञानिकलाई सहप्रध्यापक र मुख्य वैज्ञानिकलाई पा्रध्यापकको दर्जा दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । यो मान्यता मानित विश्वविद्यालयले दिने छ ।
सही मान्छे सही ठाउँ
जो जे वस्तुका वैज्ञानिक छन्, त्यसलाई त्यही राख्ने वा त्यस्तै ठाउँमा मात्र सरुवा गर्ने सुझाव उपसमितिले दिएको छ । नार्कभित्र एउटा क्षेत्रको वैज्ञानिकलाई अर्को क्षेत्रमा सरुवा गरेका कारण अनुसन्धान प्रभावित हुने गरेको प्रतिवेदनले औँल्याएको छ । नार्कका कार्यकारी निर्देशक डा. धु्रवराज भट्टराईले भने, “स्याउका वैज्ञानिकलाई आलुमा सरुवा गर्नु हुँदैन तर नार्कमा पहिला त्यस्तै भइरहेको थियो तर अबदेखि जो जे कुरामा विज्ञता हासिल गरेका छन्, उनीहरूलाई त्यहीँ रहन दिने प्रावधान ल्याउँदै छौँ ।” सही मान्छेलाई सही ठाउँमा राख्नाले काम छिटोछरितो र प्रभावकारी हुन्छ भन्दै उहाँले खास गरी अनुसन्धान क्षेत्रमा विज्ञताको ख्याल गर्नुपर्ने हुन्छ तर यसअघि धानको वैज्ञानिकलाई तरकारीमा, तरकारीको वैज्ञानिकलाई स्याउमा सरुवा गरेको पनि उदाहरण भेटिने गरेको बताए ।
सेवाकालीन तालिम
नार्कमा कृषि सेवा प्रवेश तालिमको व्यवस्था गर्नुपर्ने प्रतिवेदनले भनेको छ । कृषिमा प्रवेश गरेपछि त्यसको सेवाकालीन तालिम हुने गरेको छैन । अब नार्कमा त्यसको व्यवस्था गर्नुपर्ने उपसमितिले सुझाव दिएको छ । प्रतिवेदन प्रस्तुतिपछि मन्त्री भुसालले मानित विश्वविद्यालय बनाउनका लागि अझै अध्ययनको आवश्यकता रहेको बताए । कृषिमा अनुसन्धान आफैँ गर्नु पर्छ, त्यसका लागि मानित विश्वविद्यालय नै चाहिँदैन, यदि मानितमा जाने हो भने यही ऐनले हुँदैन, त्यसलाई संशोधन गर्नुपर्ने बताए ।
‘पानामा’ रोग नियन्त्रण गर्न निर्देशन
कार्यक्रममा केरामा देखिएको नयाँ रोग ‘पानामा’ (टिआर–४) का बारेमा पनि जानकारी गराइएको थियो । त्यसका बारेमा कृषिमन्त्री भुसालले यसलाई कसरी नियन्त्रण गर्नु पर्छ, त्यसका लागि सरकारले के के गर्नु पर्छ, तुरुन्तै एउटा लिखित प्रतिवेदन आफूलाई दिन निर्देशन दिए । केरामा रोग देखिइसकेको छ, यो सर्न पनि सक्छ भन्ने थाहा हुँदाहुँदै यसमा लापरबाही गर्न नहुने बताउँदै भनले भने, “मलाई आजै एउटा लिखित रूपमा जानकारी दिनुस्, म तुरुन्तै प्रधानमन्त्रीसँग कुरा गरेर यसलाई अगाडि बढाउँछु ।” ‘लम्पी स्किन’ मा सरकारबाट लापरबाही भएका कारण महामारीका रूप लिएको हो, समयमा यसको नियन्त्रणका लागि कदम चालेको भए यो रूप लिने थिएन, अहिले केरामा लागेको ‘पानामा’ रोगलाई समयमा नियन्त्रण गर्न सकिएन भने देशभरका केरा समाप्त हुन सक्ने भएकाले यसमा सक्रिय भएर लाग्न कर्मचारीलाई निर्देशन दिए ।