काठमाडौं । नेपाल नेत्र ज्योति संघले हाल मुलुकको विभिन्न आँखा अस्पतालमा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको जनाएको छ । नेत्र ज्योति संघअन्तर्गतका आँखा अस्पतालहरूमा सरदर आधा जति ‘कन्जंग्टिवाइटिस’ को उपचारका लागि बिरामी आइरहेको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले बताए । उनको अनुसार सुरुवातमा भारतको सीमावर्ती क्षेत्रहरूमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिए पनि हाल देशैभरि यो समस्या फैलिरहेको छ ।
नेत्र ज्योति संघको नेटवर्कका सबै अस्पतालहरूको सोमबारसम्मको तथ्यांकअनुसार दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ । अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने देखिन्छ । कन्जंग्टिवाइटिसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघअन्तर्गतका अस्पताल तथा उपचार केन्द्रहरूलाई निर्देशन जारी गरिएको नेत्र ज्योति संघका महासचिव भरतबहादुर चन्दले बताए ।
नेत्र ज्योति संघको तथ्यांकअनुसार हाल दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशतमा कन्जंग्टिवाइटिसको समस्या छ । त्यस्तै, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत कन्जंग्टिवाइटिसको समस्या लिएर बिरामी आएका छन् ।
यस्तै, कीर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगन्जमा २० प्रतिशत र विनोद निता कँडेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशतमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ । विराटनगर आँखा अस्पताल, विराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा २० प्रतिशत बिरामीहरूमा कन्जंग्टिवाइटिसको समस्या देखिएको नेत्र ज्योति संघले जनाएको छ ।
आँखा पाक्ने समस्या भएका बिरामीहरूमा अकस्मात् आँखा रातो हुने, आँखाको डिल सुन्निएर हेर्न समस्या हुने, आँखाबाट पानी बगिरहने, आँखा चिलाउने, पोल्ने र बिझाउने, आँखामा पहेंलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एक आपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनेजस्ता लक्षणहरू देखिएका छन् । हरेक वर्षायाममा आँखा पाक्ने समस्या देखिने गरे पनि यस पटक यो समस्या प्रकोपकै रूपमा फैलिरहेको छ । देशैभरि यो समस्या फैलिएपछि अहिले कतिपय स्थानीय तह विद्यालय बन्दको निर्णयसमेत गरिसकेका छन् । यस्तो समस्या देखिएका बिरामीहरूले नआत्तिई सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ ।
नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा।डा। ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधिको प्रयोग गर्दा थप जटिलता आउन सक्छ । ‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरू नआत्तिई सावधानी अपनाउनुपर्छ,’ डा। लामिछानेले भने, ‘चिकित्सकको सुझावबिना जथाभावी औषधिको प्रयोग गर्नु हुँदैन । यसले थप जटिलता निम्त्याउन सक्छ ।’
कन्जंग्टिवाइटिसका समस्या भएका बिरामीको आँखामा हेर्दैमा सर्छ भन्ने मान्यता गलत भएको डा।लामिछाने बताए । यस्तो समस्या देखिएका बिरामीको आँसु मिसिएको वस्तु तथा सामानहरूको प्रयोगबाट मात्र यो रोग सर्ने उनी बताउँछन् । आँखा पाक्ने समस्या देखिएका बिरामीले आँखा चिसो तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने र बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गर्न उनको सुझाव छ । आजको कान्तिपुरमा खबर छ ।