काठमाडौं । वाणिज्य बैंकहरूले नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । जेठका लागि बैंकको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० वटाले जेठमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । दुई वटाले सीमान्त दरमा बढाएका छन् भने ८ वटाले स्थिर राखेका छन् ।
साधारण बचतमा बैंकहरूको ब्याजदर औसतमा ०.०९६ प्रतिशतले घटेको छ । जेठका लागि ९ वटा बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने एउटाले बढाएको र १० वटाले स्थिर राखेका छन् । यससँगै जेठमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.९११ प्रतिशत र साधारण निक्षेपको ५.४९१ कायम भएको छ । वैशाखमा मुद्दती निक्षेपको औसत ब्याजदर ७.०९६ र साधारणको ५.६९१ प्रतिशत थियो ।
जेठका लागि वाणिज्य बैंकहरूले एकवर्षे मुद्दती निक्षेपमा अधिकतम ७.८० प्रतिशत र न्यूनतम ५.७५ प्रतिशत ब्याज दिनेछन् । साधारण निक्षेपमा अधिकम ६.६६ प्रतिशत र न्यूनतम ३ प्रतिशत ब्याजदर तय गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्नेछ । उक्त ब्याजदर एक महिनाभित्र परिवर्तन गर्न नपाइने व्यवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले आइतबार जेठका लागि ब्याजदर सार्वजनिक गरेका हुन् ।
०८० फागुनमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.७७, विकास बैंकहरूको १०.७१ र वित्त कम्पनीहरूको १२.३३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । सोही समय वाणिज्य बैंकहरूको औसत आधार दर १०.६४ प्रतिशत थियो । ०८० फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.७४, विकास बैंकहरूको ७.९३ र वित्त कम्पनीहरूको ९.१३ प्रतिशत छ ।