Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोह्रखुट्टे, पुतलीसडक, ललितपुरको धापाखेल लगायतका सडक जलमग्न, भक्तपुरको हनुमन्ते खोलामा बाढी सतहभन्दा माथि


सोह्रखुट्टे, पुतलीसडक, ललितपुरको धापाखेल लगायतका सडक जलमग्न, भक्तपुरको हनुमन्ते खोलामा बाढी सतहभन्दा माथि

काठमाडौं। गएरातिबाटै लगातारको बर्षाले काठमाडौं उपत्यकाका सबै नदी र खोलामा बाढी आएको छ । बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोला नदीमा बाढी आएको हो । बागमती नदीले खतराको तह पार गरेकाले नदी किनारमा रहनेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बाढी आएका अरू नदी र खोला आसपासमा बस्नेलाई पनि सुरक्षित हुन भनिएको छ । लगातारको झरीले काठमाडौंको सोह्रखुट्टे, पुतलीसडक, ललितपुरको धापाखेल लगायतका सडक पनि जलमग्न भएका छन् ।

यसैबीच । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी  बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ । राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ ।

भारी वर्षाका कारण हरेक वर्ष हनुमन्ते नदीको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनारका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्र डुबानमा पर्दै आएको छ । सो क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरिएको छ ।

वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताए ।