काठमाडौँ । पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ ।
वसन्त ऋतुको सुरुआतसँगै अनुपम प्राकृतिक विविधताले भरिपूर्ण नेपालको सौन्दर्यको अवलोकनका लागि विश्वका विभिन्न मुलुकबाट पर्यटक आउन थालेका हुन् । सन् २०२० मा विश्वका विभिन्न मुलुकसहित नेपालमा सुरु भएको कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रले यो याममा थोरै भए पनि गति लिने अपेक्षा व्यवसायीले गरेका छन् । ठमेलमा पर्यटकको चहलपहल भए पनि ढल र बिजुलीका तार बिच्छाउनका लागि सडक खन्दा पर्यटकलाई हिँडडुल गर्न समस्या भएको छ ।
ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको अधिकाशं क्षेत्र भने २६ नं वडामा पर्छ । वसन्त ऋतु साहसिक पर्यटनका लागि उपयुक्त समय हो ।
यो याममा हिमाल र पहाडी डाँडापाखा साथै नदीमा जलयात्राका लागि पर्यटकले रुचाउने गर्दछन् । यस्तै, पर्वतारोहणका लागि पनि नेपाल उपयुक्त मुलुक हो । सर्वोच्च शिखर सगरमाथा, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गालगायतका आठ हजार मिटरभन्दा माथिका हिमशृङ्खलासमेत नेपालमा रहेका छन् । अधिकांश विदेशीले आरोहणका लागि सगरमाथा नै जान खोज्ने गरेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा गत वर्षको तुलनामा यसवर्ष फेबु्रअरी महिनामा बाह्य पर्यटक आउने सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । बोर्डका सूचना अधिकारी एवं निर्देशक मणिराज लामिछाने यस वर्षको फेबु्रअरीमा मात्र नेपालमा विभिन्न मुलुकबाट ९७ हजार ४२६ पर्यटक भित्रिएका छन् ।
गत वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार दुई ५५ पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डका अनुसार फेबु्रअरीमा २५ हजार पाँच सय ७८ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै, चीनबाट नौ हजार एक सय ८०, अमेरिकाबाट नौ हजार ८९, थाइल्याण्डबाट चार हजार सात सय ९९, बेलायतबाट चार हजार पाँच सय ७१, बङ्गलादेशबाट चार हजार ९९, श्रीलङ्काबाट तीन हजार ६ सय ८४ पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत बसाई १३ दिनसम्म हुने गरेको छ भने दैनिक खर्च ४५ डलरसम्म हुने गरेको पाइन्छ ।