काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको दावी गरेका छन् । बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गरेर देखाउने र गरेकै कामले आशा भर्नेबाहेक वर्तमान सरकारको अर्को एजेन्डा नभएको दावी गरेका हुन् ।
२०४६ सालपछिको पुस्ताले यति चरम निराशा सायद पहिलो पटक बोकेको र पोखेको आफूले संसद्मा विश्वासको मत लिँदै गर्दा पनि भनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, म देख्छु, खासगरी युवा पुस्ताभित्र असीमित ऊर्जा छ । केही गरौं भन्ने हुटहुटी छ, उत्प्रेरणा छ, सपना छ । म युवा लगायत सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई विश्वास दिलाउन चाहन्छु, काम गरेर देखाउने, गरेकै कामले आशा भर्ने बाहेक यो सरकारको अर्को एजेण्डा छैन । संविधानलाई जीवनमय बनाउने बाहेक यो सरकारको अरू कुनै मुद्दा छैन । विकासका लागि स्थायित्व चाहिने भन्दै नीति र राजनीति दुवैमा स्थायित्व आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।