काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विपद् पीडितका लागि तत्काल ५० लाख रुपियाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापति निवास बुढानीलकण्ठ आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘सङ्कटको समयमा सबै एकढिक्का रहेर उद्धार र राहतमा समर्पित हुन सबैले तन, मन, धनले सहयोग गर्न जरुरी स्थिति दृष्टिगत गरी नेपाली कांग्रेसका सङ्घीय सांसदहरूको १५ दिनको पारिश्रमिक समेत गरी नेपाली कांग्रेसका तर्फबाट कूल रु। ५०,००,०००।– (पचास लाख) सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय यो बैठक गर्दछ ।’’
कार्यवाहक मुख्य सचिव डा.प्रदीप पराजुलीका अनुसार बैठकले समसामयिक विषयमा १५ वटा निर्णय गरेको छ । अविरल वर्षाका कारण उत्पन्न घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यसम्पादन समितिको बैठकले दिवङ्गतहरूको आत्माको शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
बैठकले बेपत्ताहरूको खोजीमा हरसम्भव प्रयास तीव्र ढङ्गले गर्न सरकारको ध्यानाकर्षण गराउँदै, सबै घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गरेको छ । यसैगरी, पार्टीको ‘१०० दिने विशेष अभियान’ को पूर्व निर्धारित कार्यक्रम कोजाग्रत पूर्णिमा (असोज ३०) सम्म स्थगित गर्ने निर्णय पनि गरेको छ ।