काठमाडौँ — माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । उसले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको पार्टीको आन्तरिक लेखा परीक्षणको वार्षिक वित्तीय विवरणमा उल्लेख छ । वित्तीय विवरणको अनुसूची १२ मा पुँजीगत खर्च र लगानी शीर्षकमा उक्त जग्गा खरिद गरेको जनाइएको छ ।
माओवादी केन्द्रीय कार्यालका मुख्यसचिव एवं कोषाध्यक्ष श्रीराम ढकालले सांसद, पार्टी सदस्यको लेबीबाट जग्गा खरिद गरेको जानकारी दिए । ‘मुख्यगरी लेबीको आम्दानीबाट जग्गा खरिद गरिएको हो,’ उनले भने । हाल पेरिसडाँडामा माओवादीको केन्द्रीय कार्यालय संचालन हुँदै आएको छ ।
पार्टी कार्यालय भवनको बायाँपट्टि क्यान्टिनसँग जोडिएको जग्गा खरिद गरिएको हो । माओवादीले उक्त जग्गा वरिष्ठ अधिवक्ता देवराज कटुवालबाट किनेको हो । यसअघि उनीबाटै १२ आना किनिसकेको छ ।