काठमाडौं, असोज १० । अर्थतन्त्रलाई थप गतिशील बनाउन बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरूले नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासद्वारा सुदृढ र आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविधका विषयमा सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिन को टोली नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भयो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भए तापनि आर्थिक क्रियाकलाप अपेक्षित रूपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका सम्भावित उपायबारे छलफलमा चर्चा भयो ।राष्ट्र बैंकद्वारा हालै मात्र जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेख्य सुधार भएको देखिए पनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीतिजस्ता क्षेत्रमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेको सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बताएका छन् ।
वर्तमान विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउनेछ,’ उनले भने । बाफियाको व्यवस्थाबमोजिम संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिँदो लाभांश लगायत विषयमा अध्यक्ष गोल्यानले गभर्नरसमक्ष लिखित सुझाव पत्र पेस गरेका थिए ।
छलफलमा गभर्नर महाप्रसाद अधिकारीले बाह्य परिसूचकमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किंदै गरेको बताए । एवं अन्तर्राष्ट्रिय रूपमा देखापरेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएको प्रति चासो व्यक्त गर्दै, त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको गभर्नर अधिकारीले बताएका छन्।