काठमाडौं,भदौ १४ । अबबाट तातोपानी नाकामा स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने भएका छन्। चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकले यस्तो सहकार्य भएको हो। नेपालका महावाणिज्य दुत नवराज ढकालले फेसबुक पेजमा यसको पुष्टि गर्दै जानकारी सार्वजनिक गरे। कोदारीस्थित अध्यागमन बिभागका नायब कार्यकारी प्रमूख रविन्द्र पोखरलले पनि शुक्रबारबाट यो नाका यात्रु आवत जावतको लागि खुला गरिन लागेको बताए।
चिनीयाँहरूले अहिलेलाई सिन्धुपालचोक बासीहरूलाई र चिनियाँ भिसा भएकाहरूलाई आवतजावत खुला गर्न भनेका छन्,’ पोखरलले भने। पोखरेलका अनुसार सिन्धुपालचोकका स्थानीयले आवतजावतको लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्। २०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिना अघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो।
मानिस आवत जावत भने खुल्न सकेको थिएन। यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी असोज ५ गते चीन भ्रमणमा जाने कार्यक्रम छ। अमेरिकाको न्यु योर्कमा हुने ७८ औं संयुक्त राष्ट्रसंघ महासभामा भाग लिएपछि प्रधानमन्त्री दाहाल त्यहाँबाट सोझै चीन जाने कार्य तालिका छ। उनको भ्रमणमा तातोपानी व्यापार नाका प्राथमिकतामा पर्ने व्यवसायीहरूको विश्वास छ।