कास्की । पोखरा महानगरपालिकाभित्र सञ्चालित सार्वजनिक यातायातको प्रदूषण जाँच सुरुवात गरिएको छ । यातायात व्यवस्था कार्यालयले शनिबार पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरुको प्रदूषण परीक्षण गरेको हो । मापदण्डभन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरुको प्रदूषण जाँच सुरु गरिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
अन्य दिनमा प्रदूषण परीक्षका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो । पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८ बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरुलाई पुनः मर्मतका लागि पठाइने र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालयले जनाएको छ ।