Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भोटखोलामा विद्युतको राष्ट्रिय प्रसारणलाइन जोडियो


भोटखोलामा विद्युतको राष्ट्रिय प्रसारणलाइन जोडियो

काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारणलाइन जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका ४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत बालिएको हो ।

दुर्गम गाउँमा विद्युत पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । योसँगै जिल्लाका १० वटै स्थानीय तहमा राष्ट्रिय प्रसारणलाइन पुगेको छ । विद्युत् प्रसारण लाइन पुगेपछि भोटखोला ४ र ५ नम्बर वडाका करिब ७० घर लाभान्वित भएका नेपाल विद्युत प्राधिकरण सङ्खुवासभाका प्रमुख सञ्जीव कर्णले बताए ।

गाउँपालिकाको केन्द्र गोला बजारमा अहिले ५० केभिएको ट्रान्सफर्मर राखेर बत्ती बाल्न सफल भएको उनले भनाइ थियो । निकै लामो सङ्घर्षपछि भोटखोलामा बिजुली बाल्न सफल भएको कर्णले बताए । उनका अनुसार सुगम र दुर्गम सबै ठाउँमा राष्ट्रियस्तरका विद्युतीकरण पुर्‍याउने लक्ष्यअनुसार भोटखोलामा राष्ट्रिय प्रसारणलाइन जोडिएको हो ।

जिल्लाको मकालु र सिलिचोङ गाउँपालिकाको केन्द्रसम्म विद्युतीकरण भए पनि वडा र गाउँस्तरसम्म भने विस्तार हुन बाँकी रहेको विद्युत प्राधिकरणले जनाएको छ । खाँदबारी, चैनपुर, मादी, पाँचखपन र धर्मदेवी नगरपालिकाका साथै सभापोखरी र चिचिला गाउँपालिकामा राष्ट्रिय लाइनको विद्युतीकरण विस्तार भएको छ । सङ्खुवासभामा हाल विभिन्न आयोजनाबाट २२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।