काठमाडौँ । सुनको मूल्यले हरेक दिन रेकर्ड कायम राखेको छ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ८ सय रुपैयाँले बढेको हो । दसैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
दसैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दसैं बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो ।
असोज ३० गते १ लाख ६१ हजार ८ सय, कात्तिक १ गते १ लाख ६२ हजार ४ सय, कात्तिक २ गते १ लाख ६४ हजार ४ सय र कात्तिक ४ गते १ लाख ६५ हजार रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदी पनि अहिलेसम्मकै महँगो भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । मंगलबार भने चाँदीको मूल्य २ हजार १ सय रुपैयाँ रहेको थियो । मुख्यतः अमेरिकी बजारले सुनको मूल्य निर्धारण गर्छ । भारतीय बजारले पनि यसमा प्रभुत्व जमाउँदै आएको छ ।