काठमाडौं, भदौ १७ । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले वायुसेवा कम्पनीहरूका लागि कसिलो निति तयार पारेको छ । एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट्स (एओसिआर) दसौँ संशोधनद्वारा क्यानले वायुसेवा कम्पनी सञ्चालनमा कडाइ गरेको हो । संशोधित मापदण्ड क्यानका महानिर्देशबाट स्वीकृत भइसकेको छ । वायुसेवा सञ्चालनका लागि पर्यटन मन्त्रालयबाट इजाजतपत्र (लाइसेन्स) लिएपछि क्यानबाट एयर अपरेटर सर्टिफिकेट (एओसी) लिनुपर्छ ।
एओसी लिनका लागि विभिन्न कानुनी, आर्थिक लगायत मापदण्ड परिपालना गर्नुपर्ने हुन्छ । सोही व्यवस्थाहरू भएको एओसिआर संशोधन गरी नयाँ मापदण्ड तयार गरेको क्यानका सूचना अधिकारीले बताए । अब वायुसेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीहरूसँग न्यूनतम तीनवटा जहाज हुनैपर्ने व्यवस्था गरिएको छ । सञ्चालनमा रहेका र नयाँ दर्ता हुने सबै वायुसेवा कम्पनीहरूले आगामी पाँच वर्षभित्र जहाजको संख्या न्यूनतम पाँचवटा बनाउनुपर्ने व्यवस्था गरिएको छ ।
यदि पाँचवटा जहाज पुर्याउन नसके वा आर्थिक रूपमा कमजोर भए मर्जरमा जान सक्ने सुविधा दिइएको छ । पाँच वर्षमा जहाज पाँचवटा नपुर्याए एओसी खारेज हुने भुलको भनाइ छ । वायुसेवा कम्पनीका अध्यक्ष, सेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाउन्टेबल म्यानेजर, पोस्ट होल्डरहरूले क्यान तथा सरकारका नीतिविपरीतका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणा सार्वजनिक रूपमा व्यक्त गर्न नपाइने व्यवस्था गरिएको छ ।
यस्तै, वायुसेवा कम्पनीका एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डरहरूले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवं टुर्स एन्ड ट्राभलजस्ता व्यावसायिक काममा संलग्न हुन नपाउने नीति लिइएको छ । अब नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म सेयर लगानीकर्ताले आफ्नो सेयर बिक्री वा हस्तान्तरण गर्न पाउनेछैनन् । क्यानको स्वीकृतिविना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायुसेवा कम्पनीहरूले एकाउन्टेबल म्यानेजर तथा पोस्ट होल्डहरू नियुक्त गर्न पाइनेछैन । क्यानले वायुसेवा कम्पनीहरूको एकाउन्टेबल म्यानेजरको नियुक्ति, आवश्यक न्यूनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी गरेको हुनुपर्नेछ ।