काठमाडौं । पोखरामा हुन लागेको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगितामा सय बढी चिनियाँ खेलाडी तथा पर्यटक चार्टर उडानबाट पोखरा आउने भएका छन् । चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डले मंगलबार भृकुटीमण्डपमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा मंसिर ९ गते शनिबार एक सय १० हाराहारी खेलाडी र पर्यटक पोखरा आउन लागेको जनाएको हो ।
बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीका अनुसार शनिबार पोखरामा हुने कार्यक्रममा नेपालतर्फका १० र चिनियाँतर्फका १० वटा टोलीबिच दौड, साइकल र डुंगा प्रतियोगिता हुने बताए । उनका अनुसार प्रतियोगितामा धावकहरूले दौड, साइकल र फेवातालमा डुंगाबाट गरी ४० किलोमिटरको यात्रा पुरा गर्नुपर्ने छ । पोखराको बराहीघाटबाट सुरू हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा डुंगा सयर गरी बराहीघाटमा समापन हुने छ ।
नेपाल र चीनका खेलाडीबिच हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता अर्न्तगत ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थर्कीा लागि ५ किलोमिटर दौड प्रतियोगिता पनि हुने भएको छ । नेपाली र चिनियाँ धावकबिच हुने प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ, चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचौ हुने टिमले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
व्यक्तिगत स्पर्धामा प्रथमले १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैया पुरस्कार पाउनेछन्। व्यक्तिगत स्पर्धामा चौथोदेखि १० औं तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । त्यसैगरी विद्यार्थीका लागि हुने प्रतिस्पर्धामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।
कोभिड–१९ महामारीका कारण २०१९ पछि यो प्रतियोगिता रोकिएको थियो । यसअघि असार ८ र ९ गते पोखरामा चिनियाँ ड्रागन बोट रेस प्रतियोगिता आयोजना गरिएको थियो । त्यसताका पहिलोपटक पोखरा विमानस्थलमा चिनियाँ खेलाडी विमान चार्टर गरेर पोखरा पुगेका थिए ।