काठमाडौं,प्रतिनिधिसभामा सांसदहरूले इजरायलमा रहेका नेपालीको तत्काल उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठक सुरु भएलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले हमास समूहले इजरायलमा आक्रमण गर्दा तीन नेपाली घाइते भएका र १२ जनाको अवस्था अज्ञात रहेकोबारे संसद्लाई बताएका थिए। शून्य समय र विशेष समयमा बोल्ने अधिकांश सांसदले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न र तत्काल उद्धारका काम थाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।
संसद्को विशेष समयमा सांसद पदम गिरीले इजरायलमा रहेका नेपाली नागरिकको जीवन रक्षा र उद्धारमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले केही कैदीबन्दीको सजाय मिनाहा गरेको विषयमा पनि उनले असन्तुष्टि जनाए। दसैँ–तिहारको समयमा उपभोक्ता बजारमा अनकौंँ समस्या देखिएको उल्लेख गर्दै उनले यस्ता समस्या समाधानका लागि सरकारले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने औँल्याए।
सांसद श्यामकुमार घिमिरेले नेपालको अर्थतन्त्र सुधारका लागि थालिएका प्रयासको नतिजा देखिन नसकिएको बताए। नेपालमा न्यून पुँजीगत खर्च, जग्गा खण्डीकरण तथा हदबन्दी, घट्दो आन्तरिक उत्पादनलगायतका कारण समस्या देखिएको उनको भनाइ छ। निजी क्षेत्र र सरकारी क्षेत्रबीच दूरी बढ्दै गएको देखिएको धारणा उनले संसदमा राखे। संसदमा दर्ता भएका विधेयकले पनि निजी क्षेत्रको अधिकारलाई खुम्च्याउन खोजेजस्तो देखिएको सांसद घिमिरेको भनाइ थियो। सरकारी संस्थानले नै एकाधिकार कायम गरेको विषयमा पनि उनले ध्यानाकर्षण गराएका छन्।