काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गरेरै छाड्ने बताएकी छन् । दाङको गढवा गाउँपालिका महिला उद्यमी सहकारी संस्थाको भेलामा सम्बोधन गर्दै उनले सो कुरा बताइन । सहकारीको ऋण प्रवाहको झन्झटिलो नीति र ऋणीको प्रष्ट वुझाइको अभावमा सहकारी समस्या पनि बन्दै गइरहेकाले यस्ताखालका समस्या हल गर्ने बताए । उनले भनिन्, ‘केही सहकारीले नमूना काम गरेर वास्तविक रुपमा आर्थिक समृद्धिको काम पनि गरेका छन्, तर केही सहकारी उभोक्तका लागि समस्या बनेका छन्, यस विषयमा सरकारले उचित छानवीन गरेर समस्या हल गर्छ ।’
नेपाल सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सरकारले कार्यदल बनाएर सहकारीको समस्या अध्ययन गरेको र कार्यदलले पनि प्रतिबेदन सरकारलाई बुझाइसकेको अवस्थामा सरकारले अब प्रतिबेदनको अध्ययन गरेर वास्तविक पीडितलाई न्याय दिलाउने र सहकारी संस्थाको हकमा पनि उचित निर्णय दिने बताए । गढवा गाउँपालिकाद्वारा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशीलता विकास साझेदारी परियोजनाद्वारा प्रवर्धित सहकारीको दोस्रो भेलामा प्रमुख अतिथि शर्माले महिला अब स्वरोजगारमा जोडिन आवश्यक रहेको बताइन ।
सहकारीलाई माध्यम वनाएर आयआर्जनको काममा सक्रिय हुन समेत उनले आग्रह गरिन । दाङ देउखुरीमा सञ्चार र विधुतको हिसावले पूर्णसेवा गर्ने उद्देश्यसाथ काम भइरहेको स्मरण गराउँदै महिला उद्यमीलाई सञ्चार र प्रविधिसँग जोडिन सहज रहेको बताइन । उनले भनिन, ‘दाङलाई दूरसञ्चार र बिद्युतीकरणका हिसावले पूर्ण सेवायूक्त जिल्ला घोषण गर्नेगरी काम भइरहेको छ, सञ्चार सेवा पुग्न बाँकी रहेका नेपाल–भारत सिमावर्ती क्षेत्रमा सञ्चार, विधुत विस्तारको काम भइरहेको छ, यस्ले महिला उद्यमलाई सहजता प्रदान गर्छ ।’
दाङको कोइलावास नाका र कालाकाटे सिक्टा हुलाकी सडक खण्डको सञ्चालनपछि देउखुरी क्षेत्रमा विकासमा थप टेवा मिल्ने भन्दै मन्त्री शर्माले कोइलावास नाका सञ्चालनका लागि प्रक्रिया लामो भएकाले समय लागेको बताए ।