Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने, अरुणमा सतर्कता अपनाउन आग्रह


कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने, अरुणमा  सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यसैबीच, विभागले विगत छ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा आसपास तथा गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको जनाएको छ । कोशी प्रदेशको सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गालगायत अन्य भू–भाग, मधेश प्रदेशको सप्तरी आसपासका क्षेत्रहरूमा, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, नुवाकोट तथा गण्डकी प्रदेशका गोर्खा, कास्कीलगायत क्षेत्रका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका केही भागमा पानी परेको थियो ।

यसैबीच । रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।  साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।  यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।