बागलुङ । सहकारी बचत रकम अपचलन गरेको आरोपमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् । १६ महिनापछि पक्राउ परेका उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी मुद्दामा मंगलबार बागलुङ अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो ।
सोह्र महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान व्यूरोले भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरेको थियो । इजालस अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबार नै सकिएको थियो । मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको रिजालको भनाइ छ ।
भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ ल्याएको थियो । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।