कायरो । इजरायलको आक्रमणबाट हमास नेता इस्माइल हानिया बुधबार इरानमा मारिएका छ्न् । प्यालेस्टाइनी लडाकु समूह हमास र इरानको एलिट रिभोलुसनरी गार्ड्सले उनी मारिएको पुष्टि गरेका छन् । हानिया मंगलबार इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । इस्माइल हानिया हमासको राजनीतिक विभाग प्रमुख थिए ।
उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ प्रधानमन्त्रीसमेत हुन् । हमासका नेताहरूमध्ये नरम मानिने हानियाको जन्म प्यालेस्टाइनको शरणार्थी शिविरमा भएको थियो । सन् १९८९ मा उनलाई इजरायलले ३ वर्ष कारागारमा राखेको थियो । केही समय इजरायल र लेबनानबीचको नो म्यान्स ल्यान्ड मा निर्वासनमा रहेका उनी सन् १९९७ मा हमासका नेता शेख अहमद यासिनको कार्यालय प्रमुखका रूपमा नियुक्त भएका थिए ।
उनलाई हमासले सन् २००६ मा प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री नियुक्त गरिएको थियो । तर एक वर्ष पुग्दा नपुग्दा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख मोहम्मद अब्बासले हानियालाई पदबाट बर्खास्त गरेका थिए । हानियालाई २०१७ मे ६ मा हमासले राजनीतिक विभाग प्रमुखका रूपमा नियुक्त गरेको थियो । सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले हानियालाई आतंकवादी घोषणा गरेको थियो ।