काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशनमा ल्याएको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।