Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्युत् चुहावट नियन्त्रणबाट वर्षको थप १२ अर्ब आम्दानी


विद्युत् चुहावट नियन्त्रणबाट वर्षको थप १२ अर्ब आम्दानी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावट आधा घटाएको छ ।

आर्थिक वर्ष (आव) २०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ ।

विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ ३ दशमलव ३३ प्रतिशत र वितरणतर्फ ९ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।

विद्युत् चुहावटलाई आव २०७३/७४ मा २२ दशमलव ९० प्रतिशत, २०७४/७५ मा २० दशमलव ४५ प्रतिशत, २०७५/७६ मा १५ दशमलव ३२ प्रतिशत, २०७६/७७ मा १५ दशमलव २७ प्रतिशतमा झारिएको थियो ।

आव २०७७/७८ मा भने चुहावट बढेर १७ दशमलव १८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव २०७८/७९ मा १५ दशमलव ३८ र आव २०७९/८० मा १३ दशमलव ४६ प्रतिशतमा झारिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल भएको बताए ।

घिसिङले लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।

‘चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्व रुपैयाँ थप आम्दानी भएको छ, गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको छ, नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेका छौं, अब चुहावटलाई एकल अङ्क ९सिङ्गल डिजिट०मा झार्ने लक्ष्य राखी काम अगाडि बढाइरहेका छौं ।’

ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने लगायत कदमले प्राविधिक चुहावट नियन्त्रण भएको हो ।

आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।