काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहानैदेखि जहाज दुर्घटनामा मृत्युभएका आफन्तीहरुको भिड जम्मा हुन थालेको छ । हिजो राती अवेरसम्म बसेका आफन्तीहरु आजबिहानै आउन सुरुगरेका छन् । सौर्य एयरको जहाज दुर्घटनाबाट मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हिजो अपरान्हदेखि सुरु भएको छ । फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीले मृत्यु भएकाको पोस्टमार्टममा केहि दिन लाग्ने बताए । पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाएर काम भइरहेको छ ।
सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न सक्ने अस्पताल प्रशासनले जनाएको छ । कतिपय आफन्त भने शव पहिचानका लागि पीडाका साथ अस्पताल परिसरमै बसेका छन् । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । विमानका पाइलत भने घाइते छन् । घाइते पाइलटको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ।