काठमाडौं, भदौ २२ । स्थापनाको १२ वर्षमा लगानी बोर्डले ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी कुल ४२ परियोजनामा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको मात्रै लगानी परिचालन भएको छ। शुक्रबार बोर्डको १२ वर्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृतले लगानी स्वीकृत गरेका आयोजनाको बारेमा बताए हुन्।
लगानी बोर्डले स्वीकृत गरेका ६ हजार र ३ हजार टन प्रतिदिन उत्पादन क्षमता रहेका क्रमशः होङ्सी शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट परियोजना व्यावसायिक सञ्चालनमा आएका छन् । धरानमा वेस्ट टु इनर्जी परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको भट्टले बताए। बोर्डले स्वीकृत गरेक ९०० मेगावाटको अरुण–३ जलविद्युत् परियोजना,२१६ मेगावाटको माथिल्लो त्रिशुली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन्।९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकास सम्झौता सम्पन्न भई वित्तीय व्यवस्थापनको क्रममा रहेका बोर्डले बताएको छ ।
४५० मेगावाटको सेती नदी –६ सहित राष्ट्रिय गौरवको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भई विस्तृत परियोजना प्रतिवेदन डीपीआरको तयार हुँदैछ। यसका साथै ३२७ मेगावाटको अपर मर्स्याङ्दी – २ जलविद्युत् परियोजनाको डीपीआर मूल्यांकन भैरहेको छ भने पीडीएको तयारी समेत भएको बोर्डको भनाइ छ।
नेपालमा पहिलो पुस्ताको विदेशी लगानीकर्ताको रूपमा परिचित डाबर नेपालले उत्पादन वृद्धि र विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ बराबरको पुनर्लगानी गर्ने भएको छ । लगानी बोर्डको ५५ औं बैठकबाट चीन नेपालमैत्री औद्योगिक पार्क परियोजनाको पीडीएका लागि वार्ता समिति गठन भइ वार्ता समितिले कार्य थालनी गरिसकेको भट्टले बताए।
यस अवधिमा लगानी बोर्डले लगानी बोर्डको कार्यालयलाई सार्वजनिक – निजी साझेदारी (पीपीपी) को विशिष्टिकृत संस्थाको रूपमा विकास गर्न र संस्थागत सुदृढीकरणको पाटोमा महत्वपूर्ण कार्यहरू गरेको भट्टको भनाइ छ। उक्त अवसरमा तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौताका क्रममा विकास कर्तासँग अन्तिम चरणको वार्तामा सहभागी हुने लगानी बोर्ड तर्फको पीडीएको वार्ता टोली र विकासकर्ता समेतलाई सम्मान गरिएको थियो ।
त्यस्तै, विदेशी लगानी आकर्षण एवं प्रवर्द्धनका लागि लगानी बोर्डको कार्यालयसँग निरन्तर सहकार्य गरी सहयोग पुर्याएकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई सम्मानपत्र प्रदान गरिएको थियो ।