काठमाडौं । सरकारले शनिबार २१ औँ निजामती सेवा दिवस मनाउँदै छ । गत तीन वर्षदेखि नै निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरिएको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको हो ।
सरकारले प्रत्येक वर्ष निजामती सेवा दिवस मनाए पनि स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनले दिने सेवाप्रति आमनागरिक भने पूर्ण रूपमा सन्तुष्ट हुन सकेका छैनन् । समग्र कर्मचारीको छाता ऐनका रूपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारीको वृत्तिविकास अवरुद्ध भएकाले कर्मचारी स्वयं उत्साहित भएर सेवा प्रदान गर्न नसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यसैबीच, सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार दिन लागिएको मन्त्रालयले जनाएको छ ।