काठमाडौं । कोशी प्रदेशसभाको दोस्रो कार्यकालको ८ महिना सकिन लागेको छ । यस अवधिबीच प्रदेश सांसदहरुलाई तलबभत्ताको नाममा साढे ५ करोड रुपैयाँ सकिएको छ ।
तथ्याङ्क अनुसार पुस १७ देखि अहिलेसम्ममा प्रदेशसभाको २४ वटा बैठक बसेको छ । आठ महिनामा पूरा हुँदा जम्मा २४ वटा बैठकमा ४३ घण्टा १५ मिनेट समय खपत भएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा १३ वटा बैठक चलेको थियो । दोस्रो अधिवेशनमा ६ वटा र तेस्रो अधिवेशनमा जम्मा ५ वटामात्रै बैठक बसेको छ । तर, प्रदेशसभा सदस्यहरुका लागि ८ महिनामा प्रतिसांसद झण्डै ६ लाख रुपैयाँ लगानी भएको छ ।
प्रदेशसभाका सदस्यहरूका लागि गत साउनमा तलबमात्रै ६८ लाख ११ हजार २५ रुपैयाँ खर्च भएको छ । त्यो रकम मन्त्रीहरू बाहेकको हो । मासिक रूपमा एक जना प्रदेश सांसदले ५३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउँछन् भने घर भाडाबापत १९ हजार पाउँछन् । पानी, बिजुलीका लागि एक हजार पाँच सय र सञ्चार तथा पत्रपत्रिका शीर्षकमा दुई हजार ५ सय संसद् सचिवालयले प्रति प्रदेशसभा सदस्यलाई मासिक उपलब्ध गराउँदै आएको छ ।