काठमाडौं । चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज दोस्रो उडान गर्ने भएको छ । सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १३४ यात्रुसहित चार्टर्ड उडान गर्ने भएको हो ।
नेपाल र चीनबीचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित २४ कात्तिकमा पोखरामा हुन लागेको तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आउने चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शक र अन्य व्यक्ति चार्टर्ड उडानमार्फत पोखरा आउन लागेका हुन् । चीनको कुनमिङ विमानस्थलबाट आउने एयर बस ३१९ विमान बिहीबार दिउँसो २ बजेर ४० मिनेट जाँदा पोखरामा अवतरण गर्नेछ ।
पोखरामा अवतरण गरेपछि अपराह्न ४ बजेर १० मिनेट जाँदा काठमाडौंका लागि उड्ने विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन् । उक्त विमान काठमाडौंका लागि भने खालि नै उड्नेछ । प्रतियोगिताका प्रचारप्रसार संयोजक प्रतीक पहारीले विमानबाट एक सय ३४ जना यात्रु पोखरा आउने जानकारी दिए । प्रतियोगितामा नेपाल र चीनका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
सिचुवानले यसअघि २०८० असार ६ मा पहिलोपटक चार्टर्ड उडान गरेको थियो । पोखरा विमानस्थल सञ्चालनमा आएको १७२ दिनमा चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमानले उडान भरेको हो ।
सो विमानमा पोखराको फेवातालमा सम्पन्न दक्षिण एसियामै पहिलोपटक नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ मा सहभागी हुन चिनियाँ टोली आएका थिए । यो नै पोखरामा भएको पहिलो अन्तर्राष्ट्रिय उडान हो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरामा चारपटक गरी अहिलेसम्म पाँच चार्टर्ड र एक व्यावसायिक उडान भएको छ ।