काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् । गट्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै मन्त्री लेखकले गट्ठाघरको दुर्घटना हुनुमा कस्को गल्ती छ गम्भीरतापूर्वक छानबिन होस् भनेका छन् ।
बिहीबार दिउँसो भक्तपुरको गट्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले थियो । ट्रक चालक पक्राउ परिसकेका छन् ।
घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गट्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो । प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखेका थिए ।