काठमाडौं । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ ।
स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठ, जनप्रतिनिधि र चिकित्सकसहित पुगेको प्रहरीको टोलीले फेला परेको कंकाल र अन्य सामग्री सङ्कलन गरेको थियो । मानव कंकाल फेलापरेको उक्त स्थान गिठेनी पोखरा वस्तीदेखि करिब दश मिनेटको दूरीमा पर्दछ ।
माटोमुनी गाडेको अवस्थामा शव फेला परेको र घटनास्थलमा फेला परेका सबै सामग्रीहरु सङ्कलन गरेर बेनी ल्याइएको प्रहरीले जनाएको छ । फेला परेको मानव कंकाल र सामग्री विगत ८ महिनादेखि बेपत्ता परियारको भएको हुनसक्ने प्रहरीको आशंका छ ।