Wednesday, June 11, 2025

२०८२ जेष्ठ २९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कास्कीमा पहिरोः एकै घरका ७ जनासहित ११ को मृत्यु (अपडेट)


कास्कीमा पहिरोः एकै घरका ७ जनासहित ११ को मृत्यु (अपडेट)

काठमाडौं । कास्कीमा पहिरोमा पुरिएर एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएका हुन् । पोखरा–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ ।

पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले एक तले ब्लकको गारो र टिनको छाना भएको घर पुरिँदा बिहीबार राति सवा १० बजेतिर ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । मृतकमध्ये प्रभा चितवनबाट श्रीमान् अस्मितसँगै माइत आएकी थिइन् । छिमेकी राधिका परियारको भने पहिरोमा पुरिएकाको उद्धार गर्ने क्रममा पुरिएरै निधन भएको प्रहरीले जनाएको छ ।

पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदै ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । उनका ५५ वर्षीय छोरा ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।