काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न निर्देशन जारी गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै मंसिर १२ गतेभित्र बक्यौता तिर्न सूचित गरेको हो । प्राधिकरणले मन्त्रिपरिषदको कात्तिक २५ गतेको बैठकबाट र नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ गतेको ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण समेत गराएको छ ।
सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले भनेको छ । मंसिर १२ गते भित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ ।