धनगढी — सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । आइतबारको नियुक्तिसँगै शाह दोस्रो पटक मुख्यमन्त्री भएका हुन् । दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार आइतबार साँझ ५ बजेसम्मको समय तोकेका थिए ।
एमालेको समर्थनमा निर्धारित समयभित्र शाहले दाबी पेस गरेका थिए । नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व नेपाली कांग्रेसको भागमा पारिएको थियो ।
यसबीचमा शाहसहित प्रकाश देउवा, बहादुरसिंह थापा र दिवानसिंह बिष्ट गरि चार जना मुख्यमन्त्रीका आकांक्षी थिए । अन्ततः सभापति देउवाले शाहलाई नै मुख्यमन्त्री अघि बढाउने निर्देशन गरेसंगै शाहका लागि दोस्रो पटक मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८, एमालेका ११ सांसद छन् । शाह यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा १४ महिना मुख्यमन्त्री भएका थिए । गठबन्धन फेरबदल भएर समर्थक दलहरुले समर्थन फिर्ता लिएपछि ०७९ चैत्र २२ गते उनले पदबाट राजीनामा दिएका थिए ।