काठमाडौं, भदौ १ । असार मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर बराबर भएको छ । नेपाल राष्ट्र बैंकको वार्षिक वित्तीय प्रतिवेदन अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७९ असारको तुलनामा २३.१ प्रतिशत बढेको हो । नेपाली रुपैयाँमा भने एक वर्षको अवधिमा विदेशी मुद्रा सञ्चिति २६.६ प्रतिशत बढेको छ।
२०७९ असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब ४५ अर्ब ७८ करोड र बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंक बाहेक) सँग १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ बराबर रहेको छ।
कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । आर्थिक वर्ष २०७९,८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्यांक छ ।