काठमाडौं । करिब १० करोडको लगानीमा दुईवटा सिनेमा हलको निर्माण चरण अन्तिममा रहेको अभिनेता दीपकराज गिरीले बताएका छन् । केहि प्राविधिक विषयको मा अन्तिम चरणमा पुगेको गिरीले बताए । आगामी भदौ २१ गतेदेखि मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा ल्याउने तयारीमा रहेका गिरीले शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’ रिलिजसँगै नयाँ बानेश्वरको बानेश्वर मलस्थित हललाई औपचारिक रुपमा सञ्चालनमा ल्याउने बताए ।
‘जवान’ रिलिजको साताअघि ‘सफ्ट–लन्च’ गर्ने तयारी छ । हल सञ्चालक तथा अभिनेता गिरीले ‘जवान’ स्क्रिनिङसँगै मल्टिप्लेक्स चल्ने र त्यसको दुई साताअघि सफ्ट–लन्चको तयारी भइरहेको बताए । हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गरिदै छ । आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले पनि ‘जवान’ रिलिजसँगै आफूहरुले हललाई चलाउने बताए । पछिल्लो समय अन्य विदेशी र नेपाली फिल्मले समेत कमजोर व्यापार गरिरहेको बेला शाहरुख खानको ‘जवान’ले हलसम्म दर्शक तान्न सक्ने आशा सञ्चालकमा छ ।
चलचित्र विकास बोर्डका अनुसार शाहरुखको ‘पठान’ले नेपाली बक्स अफिसमा १० करोड नेपाली रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो । यसबाहेक अभिनेता तथा निर्माता गिरी कम्तीमा तीन फिल्म निर्माणको तयारीमा जुटेका छन् । हलसँगै फिल्मको लाइनअपको कारण उनको आउँदो वर्ष निकै व्यस्त हुने अनुमान गरिएको छ । गिरिले अन्य सिनेमा हल भन्दा फरक अनुभूति हुने बताएका छन् ।