काठमाडौँ । आर्थिक वर्ष ०८०—८१ मा १५ अर्ब १ करोड ९६ लाख रूपैयाँ बराबरको गेडागुडी तथा दलहन आयात भएको छ । मुलुकले एक वर्षमा १४ करोड ७७ लाख ५९ हजार किलो गेडागुडी आयात गरेको भन्सार विभागले जनाएको छ । केराउ, चना, बोडी, सानो रातो बोडी, राजमा, तनेबोडी, बकुला, सिमीलगायत गेडागुडी आयात भएको विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष ५ अर्ब १० करोड ५० लाख रूपैयाँबराबरको रातो दाल र १ करोड ५० लाख १३ हजार रूपैयाँ बराबरको केराउ आयात गरिएको थियो ।
मुलुकमा ४ अर्ब ५ करोड रूपैयाँबराबरको चना, ३ अर्ब ४१ करोड ६८ लाख रूपैयाँको बोडी, ४७ करोड ९७ लाख रूपैयाँको राजमा आयात भएको विभागको तथ्यांक छ । ८ करोड ६२ लाख रूपैयाँको अन्य बोडी र १ करोड ४ लाख रूपैयाँको तनेबोडी आयात भएको छ ।नेपालमा सबैभन्दा बढी अस्ट्रेलियाबाट ३ अर्ब ५१ करोड ३० लाख रूपैयाँको चना आयात भएको छ । म्यानमारबाट १ अर्ब ६४ करोड ३ लाख रूपैयाँको बोडी, भारतबाट ४० करोड ९२ लाख रूपैयाँको राजमा आयात गरिएको विभागले जनाएको छ । भारतबाट १ करोड ५० लाख रूपैयाँ बराबरको केराउ आयात गरिएको छ ।