काठमाडौं, भदौ २७ । नेप्से परिसूचक ३ सातापछि २००० विन्दु माथि लागेको छ। भदौ ७ गते २०१३.९३ विन्दुमा बन्द भएको नेप्से, सोपश्चात निरन्तर २००० विन्दु भन्दा तल बन्द भइरहेको थियो। भदौ ७ गतेपश्चात अर्थात ३ सातापछि नेप्सेले पहिलो पटक २००० को विन्दु पार गरेको हो।बुधबार नेप्से परिसूचक ३९.४८ अंक बढेर २००७।०६ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५६ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन १ अर्ब १३ करोडको शेयर खरिद बिक्री भएको बजारमा यस दिन २७५ स्टकको ३६ हजार ४५ पटकको कारोबारमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बरुण हाइड्रोपावर र शुभम् पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तैगरी, यस दिन समता घरेलु लघुवित्त र अरुण काबेली पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन थ्रीस्टार हाइड्रोपावरको मूल्य भने सर्वाधिक ८ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ।
सो बैंकको यस दिन ७ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ। त्यस्तैगरी, यस दिन सोल्टी होटल र एभरेष्ट बैंकको ६ करोड भन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ५ करोड भन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेका छन्।