चीन भ्रमणका क्रममा बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको (ताक्लाकोट) सीमा नाका र महाकाली कोरिडोर हुँदै पुगिने तिंकर नाकालाई एजेन्डा बनाउन माग गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले मागबारे पहल गर्ने आश्वासन दिएका छन् ।
दक्षिण छिमेकी भारत र उत्तरको चीनको ताक्लाकोट सीमा नाका जोड्ने त्रिदेशीय महत्त्वको सेती लोकमार्गको चर्चा २०४२ सालमा सुरू भएको थियो । सुदूरपश्चिम घर भएका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पहिलो पटक प्रधानमन्त्री हुँदा उत्तर—दक्षिण सीमा जोड्ने सेती लोकमार्गको अवधारणा ल्याएका थिए । कैलालीको टीकापुरदेखि बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको-ताक्लाकोट सीमा नाकासम्म ३ सय ५९ किलोमिटर लामो सेती लोकमार्गको हालसम्म १ सय ८७ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ ।
कैलाली र डोटी जिल्लाको पूर्वी भाग, अछाम, बाजुरा र बझाङ जिल्लाका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य लोकमार्गसँग जोडिएका छन् । विशेषतः हिन्दू धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिने कैलाश मानसरोवरसम्म पुग्न सेती लोकमार्ग पश्चिमभरिमा सबैभन्दा छोटो र कम लागत लाग्ने महत्त्वपूर्ण आयोजना हो ।
मान्यताअनुसार कैलाश मानसरोवर जान भारतको नैमिसारण्डदेखि सुरू गर्नुपर्छ । सेती लोक मार्गले नैमिसारण्डदेखि भारतको तिकुनियाँ हुँदै टीकापुर, डोटीको पूर्वी भाग, अछामको बैद्यनाथ धाम , बझाङको खप्तड हुँदै ताक्लाकोटबाट कैशाल मानसरोवर जान सकिन्छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको लाइफलाइनको आयोजनाको रूपमा हेरिएको महाकाली करिडोरअन्तर्गतको दार्चुलातिंकर सडक निर्माण भइरहेको छ भारत, कञ्चनपुरको महेन्द्रनगर-टनकपुर जोड्ने लिंकरोडको ब्रह्मदेवदेखि दार्चुलाको तिंकर त्रिदेशीय नाकासम्म महाकाली कोरिडोर जोडिनेछ । ५ असोजदेखि प्रधानमन्त्री चीन भ्रमणमा जादै छन् । प्रधानमन्त्रीले दुई नाकाका विषयमा चासो राखे र चीन सरकार यसमा सराकारत्मक भए प्रदेशको समृद्धिको आधार बन्न सक्ने सरकारको बुझाइ छ ।