Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१० महिनामा ८ लाख पर्यटक भित्रिए


१० महिनामा ८ लाख पर्यटक भित्रिए

काठमाडौं । पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांक उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ । यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या हो ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार अक्टोबर २०१९ मा आएको १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो । यो रेकर्ड यस वर्ष तोडिएको हो । अक्टोबर महिनामा गैरआवासीय नेपालीको जमघट नेपालमा हुन्छ । उनीहरु समेत नेपाल आउँदा पर्यटकका रुपमा गणना हुन्छ ।

यो सम्मेलनको प्रभाव समेत यस महिनामा परेको देखिन्छ । व्यवसायीहरुका अनुसार भारत, बंगलादेश, चीन, श्रीलंकासहितका मुलुकबाट आउने सबैजसो पर्यटक नै भएपनि अमेरिका र युरोपबाट आएकाहरुमा गैरआवासीय नेपालीको समेत संख्या उल्लेख्य रहने गर्छ ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२२ मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल आएका थिए । यस महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी छन् । अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्यांक छ । तेस्रो स्थानमा बेलायती छन् । यस मुलुकबाट ८ हजार २१७ जना पर्यटक नेपाल आएका छन् ।

चीनबाड ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका छन् । सन् २०२३ को १० महिनाको अवधिमा ८ लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अक्टोबरको बीचमा ८ लाख ९ हजार ६७८ जना पर्यटक नेपाल आएका छन् ।