काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ऋण नतिरेपछि धितो लिलामीमा बिक्री गरिने भएको छ । एभरेष्ट बैंकको अगुवाईमा सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट सहवित्तीयकरण कर्जा उपभोग गरिरहेको रारा हाइड्रोपावरले ऋण चुक्ता नगरेपछि धितोवापतको सम्पत्ति लिलामीमा बिक्री गर्ने भएको हो ।
हाईड्रोपावर परियोजनाका लागि एभरेष्ट बैंकको अगुवाईमा सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट प्राप्त गरेको विभिन्न ऋण कर्जा तथा बैंकिङ्ग सुविधा बैंकलाई समयमा नबुझाएपछि धितो बिक्री गर्ने एभरेष्ट बैंकले जनाएको छ ।
बैंकका अनुसार साँवा ब्याज चुक्ता गर्न पटकपटक लिखित एवं मौखिक रुपमा सूचना गरी ताकेता गर्दा समेत वेवास्ता गरेकोले ३५ दिनभित्र बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ । उक्त समयभित्र कर्जा नियमित गर्न नसके बैंकहरुले चल–अचल सम्पत्ति प्रचलित कानून बमोजिम लिलाम बिक्री गर्ने र अन्य कानूनी प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।
रारा हाइड्रोपावरको नाममा मालपोत कार्यालय दैलेखमा दर्ता रहेको दैलेखको साविक अवलपराजुल गा.वि.स., वडा नं. ४ र ५ स्थित कित्ता नम्बर २९४, २९२, २९८ २८९, ३०२, २७३, २६१, २६४, २७५, २५९, २७०, २६६, ८०५, ७९७, ७९९, ८०२, ८०७, ४२७, ४२९, ७९२ र ७९५ को जम्मा क्षेत्रफल ११ हजार ४५ वर्ग मिटर र साविक पिलाडी गा.वि.स. वडा नं।६ स्थित कित्ता नंम्बर १९१ को क्षेत्रफल १०७० वर्ग मिटरको जग्गा बिक्रीमा राख्ने बैंकले जनाएको छ ।
साथै, सो जग्गामा हाल निर्माणाधीन विद्युत गृह, पावर हाउस, विद्युत उत्पादन तथा विस्तारका लागि ऋणी कम्पनीका तर्फबाट तयार गरिएको वा गरिने सम्पूर्ण विद्युतीय सञ्जाल तथा उक्त विद्युत गृहमा जडित विभिन्न यन्त्र उपकरण मेसिनरिज तथा अन्य घर, भवन, कार्यालय, पर्खाल तथा अन्य निर्माण कार्यहरु बिक्री गर्ने बैंकले जनाएको छ ।