Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौँ महानगरमार्फत् दुई महिनामा एक अर्ब राजस्व सङ्कलन


काठमाडौँ महानगरमार्फत्  दुई महिनामा एक अर्ब राजस्व सङ्कलन

काठमाडौं, असोज ३ । चालू आर्थिक वर्षको दुई महिनामा काठमाडौँ महानगरले एक अर्ब राजस्व सङ्कलन गरेको छ । महानगरले विभिन्न शीर्षकमा गरेर एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । अघिल्लो वर्षको अवधिमा ९३ करोड ४१ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा २४ करोड रुपैयाँ राजस्व सङ्कलन वृद्धि भएको महानगरले बताएको छ । चालू आवको साउन महिनामा ६५ करोड ४२ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

महानगरले सबैभन्दा धेरै घर बहाल कर, सम्पत्ति कर, व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ । भदौ महिनासम्म सम्पत्ति करबापत २५ करोड ३१ लाख २५ हजार रुपैयाँ सङ्कलन गरेको छ । यस्तै भूमि कर, मालपोत करबापत ३९ लाख ७४ हजार, घर बहाल करबापत ५२ करोड ३५ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । आन्तरिक अनुदान १६ लाख ५४ हजार रुपैयाँ, पर्यटन शुल्कबापत एक करोड ५५ लाख ५९ हजार रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क १६ लाख १० हजार रुपैयाँ, पार्किङ शुल्कबापत ४७ लाख २३ हजार रुपैयाँ, नक्सा पास दस्तुरबापत १४ करोड ३६ लाख छ हजार रुपैयाँ राजस्व सङ्कलन भएको महानगरले बताएको छ ।

प्रशासनिक सेवा शुल्कबापत १६ लाख १० हजार रुपैयाँ, सिफारिस दस्तुर एक करोड ३२ लाख ९६ हजार रुपैयाँ सङ्कलन भएको छ । यस्तै व्यक्तिगत घटना दर्ता दस्तुरबाट एक लाख ९६ हजार रुपैयाँ, नाता प्रमाणीकरण शुल्कबाट १० लाख १७ हजार रुपैयाँ, व्यवसाय रजिस्ट्रेसन दस्तुर १३ करोड ७७ लाख ५९ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिबाना तथा जफतबाट ३८ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको महानगरले बताएको छ । जनसङ्ख्याको हिसाबले देशकै ठुलो महानगरका रूपमा रहेको काठमाडौँ महानगरको मुख्य आम्दानीको स्रोत राजस्व रहेको छ । गत आवमा महानगरले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको बताएको छ ।