काठमाडौं, भदौ २५ । पछिल्लो समय जीवन बीमा व्यवसायको आकारमा वृद्धि हुँदै गएको छ । कम्पनीहरूको व्यवसाय तथा नाफा वृद्धिसँगै बीमितले पाउने बोनस दर पनि बढेको छ । जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको बोनस दरको तथ्याङ्कले यस्तो देखाएको हो । कम्पनीहरूले आर्थिक २०७८,७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसहति बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीहरूले बोनस दर सार्वजनिक गरेका हुन् ।मुनाफा, बीमालेखको सङ्ख्या, पोलिसी ल्याप्स, सम्भावित जोखिम लगायतका आधारमा कम्पनीहरूले बीमांकीय मूल्याङ्कनद्वारा प्रत्येक वर्ष बोनस दर निर्धारण गर्नुपर्दछ ।
बोनस दर प्रतिहजारमा गणना हुन्छ । कम्पनीको पोलिसी र बीमा अवधिको आधारमा विभिन्न बीमालेखको बोनस दर फरक–फरक हुनसक्छ । बोनस दर कायम गर्दा भने बीमितले तिरेको बीमाशुल्कले कुनै प्रभाव पार्दैन । बीमितको बीमांकको आधारमा नै प्रत्येक वर्ष तोकिएको बोनस रकम पाउन सक्छन् । बीमा अवधि सकिएपछि बीमितले बीमांकसहित प्रत्येक वर्ष आर्जित बोनस रकम एकमुष्ट पाउँछन् । बीमा एक्चुअरी मार्फत कम्पनीमा लेखापरिक्षण भएपश्चात् एक्चुअरी कै निर्णयमा बोनस दर घोषणा गरिन्छ । आर्थिक वर्ष २०७८,७९ को लागि हालसम्म १३ वटा जीवन बीमा कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् ।
अघिल्लो वर्षको बोनस दर कम्पनीहरूले गत आवमा नै घोषणा गरी सक्नुपर्ने हुन्छ । हालसम्म साबिकको सूर्या लाइफ, ज्योति लाइफ, नेशनल लाइफ, मेट, सन नेपाल, रिलायवल, सिटिजन, साबिकको युनियन, प्राइम, सानिमा, एशियन,र लाइफ इन्स्योरेनस कर्पोरेशन नेपालले बोनस दर सार्वजनिक गरेका हुन् । कम्पनीहरूको बोनस दर अनुसार न्यूनतम १९ रुपैयाँ देखि ९० रुपैयाँ सम्म तोकेका छन् । २५ वर्षभन्दा बढी बीमाअवधि भएका बीमालेखरुमा उच्च बोनस दर कायम गरेका छन् ।
लामो बीमा अवधिको बीमालेखबाट कम्पनीलाई धेरै फाइदा हुन्छ, जसका कारण बढी बोनस दिने गरेको पाइन्छ । पछिल्लो समय बीमा व्यवसाय पनि वृद्धि भइरहेको छ । व्यवसाय र कम्पनीहरूको नाफा वृद्धि सँगै बोनस दर पनि बढ्दै गएको छ । केही वर्ष अघिसम्म प्रतिहजार ५० रुपैयाँसम्म मात्र बोनस दर घोषणा हुने गरेको थियो । पछिल्लो केही वर्षहरूमा भने कम्पनीहरूले अधिकतम ९० रुपैयाँसम्म बोनस दर कायम गरेको पाइन्छ ।