वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीमा रहेको एक ग्यारेजमा आगलागी हुँदा एक करोड ५० लाखभन्दा धेरै क्षति भएको छ ।
गह्रौंकालिका अटो सेन्टरमा शुक्रबार राती भएको आगलागीमा परेर बिक्रीका लागि राखिएका मोटरपार्टस, ग्यारेज तथा संरचना जलेर पूर्णरुपमा नष्ट भएको ग्यारेजका सञ्चालक राजु तिवारीले बताउनुभयो ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको वडा प्रहरी कार्यालय वालिङका डिएसपी वसन्त पाठकले जानकारी दिनुभयो । ग्यारेजमा रहेका सामग्री तथा संरचना जलेर पूर्णरुपमा नष्ट भएको उहाँको भनाइ छ । एक करोड पचास लाखभन्दा धेरै क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
ग्यारेज तथा पसलमा लागेको आगो वालिङ नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा राती नै नियन्त्रणमा लिइएको छ । आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।