काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले कम्तीमा ५० प्रतिशत छात्रवृत्ति पाउने विद्यार्थीलाई मात्रै विदेश पढ्न जान दिनुपर्ने बताएका छन् । जथाभावी विदेश पढ्न जान दिने विषयमा राष्ट्रिय रुपमा छलफल आवश्यक रहेको महतले बताए । १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता युवाहरुमा रहेको र यसलाई परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले नेपालबाट गएका विद्यार्थीको पढाइ अवस्था पनि राम्रो नभएको उल्लेख गरे । विदेशमा अध्ययन पनि पूरा गर्न नसक्ने, राम्रो अवसर पनि नपाउने अवस्था नेपाली विद्यार्थीको रहेको महतले स्पष्ट पारे ।
‘अहिले जति पनि विद्यार्थी बाहिर देशहरुमा पढ्न गएका छन्, राम्रो कलेजमा गएका छैनन् । उनीहरु एउटा भिसा सर्कलमा गएका छन्’ महतले भने ‘न कलेज पूरा गर्न सक्छन् । न ठूलो अवसर पाएका छन् । त्यस्तो स्थितिमा हामीले कक्षा १२ बाट नै ५० देखि १०० प्रतिशत छात्रवृत्ति नभई नजाने विषयमा राष्ट्रिय रुपमा छलफल गर्न आवश्यक छ ।’ नेपालमा इन्जिनियरिङ पढ्नेहरु अन्तर्राष्ट्रिय राम्रो क्याम्पसमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भएपनि कक्षा १२ बाट नै वार्षिक ४० हजार विद्यार्थी बाहिर जाने गरेको उनले बताए । ‘राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानै पर्छ भन्ने भएको छ’ उनले भने ‘अब विदेश नजानु भनेको इज्जत नै जानेजस्तो भइसक्यो ।
यो मानसिकता परिवर्तन गर्न आवश्यक छ ।’ पछिल्लो समय ठूलो संख्यामा युवाहरु आईटीमा लागे पनि करको दायरामा भने नआएको उनले गुनासो गरे । ‘अहिले नेपालमा ठूलो संख्यामा युवाहरु आइटीमा लागेका छन् तर करको दायरामा आएका छैनन्, नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सफ्टवेरहरु निर्यात हुने गरेको छ । नेपालमा आईटी क्षेत्रमा ठूलो सम्भावना छ । यसलाई सरकारले प्रोत्साहन गरेको छ ।’ पर्यटन प्रवर्द्धनको लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार रहेको महतले बताए । पोखरा विमानस्थल भन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको उनको भनाइ छ ।