Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपालको उर्जामा एडीबीको साढे १ खर्ब बढी लगानी


नेपालको उर्जामा एडीबीको साढे १ खर्ब बढी लगानी

काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा एसियाली विकास बैंक (एडीबी)को लगानी करिब साढे १ खर्ब रुपैयाँ पुगेको छ । उर्जा क्षेत्रका विभिन्न सात वटा आयोजनामा गरेर यही पुस १५ सम्म कुल एक अर्ब ६ करोड ५० लाख अमेरिकी डलर (करिब १ खर्ब ४२ अर्ब रुपैयाँ) स्वीकृत भइसकेको एडीबीले जनाएको छ ।

उक्त रकममध्ये करिब ४० मिलियन अमेरिकी डलर (करिब साढे ५ अर्ब रुपैयाँ) अनुदान र बाँकी सहुलियत ब्याजदरको ऋण रहेको छ । हालसम्म स्वीकृत लगानीमध्ये करिब ८५ प्रतिशतको ठेक्का लागिसकेको एडीबीले जनाएको छ । नेपालको उर्जा क्षेत्रमा थप लगानी विस्तारका लागि आफूहरू सधैं तयार रहेको एसियाली विकास बैंक, नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वाले बताए ।

नेपालको अन्तरदेशीय उर्जा व्यापार प्रवर्द्धनका गर्दै आन्तरिक ऊर्जा सुरक्षा अभिवृद्धि गर्न यस क्षेत्रमा एडीबीले निरन्तर सहयोग र लगानी विस्तार गर्न चाहेको उनको भनाइ छ । यसका लागि एडीबीले सरकारी तथा निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूमा प्रत्यक्ष लगानी र प्रसारणलाइन निर्माणमा सरकारलाई सहयोग गरिरहेको पनि कुश्वाले बताए ।

आउँदा दिनमा पनि नेपालमा विद्युत् उत्पादन र माग बढाउन तथा प्रसारणलाइन निर्माण र वितरण प्रणाली सुधार गर्न थप लगानी विस्तार गरिने एडीबीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको काम कारबाही र विद्युत् वितरण प्रणालीलाई आधुनिक प्रविधियुक्त बनाउन पनि एडीबीले सहयोग गरिरहेको बताइएको छ । जसअनुसार स्मार्ट ग्रिड र डिजिटल मिटर जडानलगायतमा रहेका छन् ।

यस्तै, नेपालको कुल विद्युत् उत्पादनमध्ये १० प्रतिशत एडीबीको लगानीमार्फत र ९० प्रतिशत अन्य स्रोतबाट उत्पादन भएको एडीबीले जनाएको छ । पछिल्लो समयमा विद्युत् उत्पादनभन्दा प्रसारणलाइन निर्माणमा एडीबीको सहयोग केही बढी छ । हालसम्म निर्माण भएका कुल प्रसारणलाइनमध्ये ५०.५ प्रतिशत एडीबीको सहयोगमा बनेका छन् भने बाँकी ४९.५ प्रतिशत अन्य स्रोतमार्फत निर्माण भएका हुन् ।

यस्तै, वितरण स्टेसनमध्ये एडीबीको सहयोगमा ३७ प्रतिशत र बाँकी ६३ प्रतिशत अन्य क्षेत्रका सहयोगमा निर्माण भएको बताइएको छ । हाल आएर एडीबीले विद्युत्‌को पहुँच बढाउन र स्वच्छ उर्जा विकास गर्न, उर्जाको सक्षमता बढाउन र चुहावट कम गर्न, आधुनिक प्रविधिमार्फत विद्युत् विकास गर्न र मुलुकभर प्रसारणलाइन निर्माणमा एडीबीले काम गर्दै आएको छ । यसका लागि एडीबीले सरकार र निजी क्षेत्र दुवै पक्षलाई सहयोग गरिरहेको एडीबीका नेपाल आवासीय नियोगका निर्देशक कुश्वाले बताए ।