काठमाडौं । नेपालको जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न अर्थमन्त्री प्रकाशशरण महतले एसिया क्षेत्रका बैंकहरूलाई आग्रह गरेका छन् । जलविद्युत् लगानीकर्ताको सुरक्षामा सरकारले प्रतिबद्धता जनाइसकेकाले लगानी बढाउन अर्थमन्त्री महतले एसियन क्षेत्रका बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ)हरुलाई आग्रह गरेका हुन् । बिहीबारदेखि काठमाडौंमा सुरू भएको एसियन बैंकर्स एसोसिएसनको ३९औं ‘जनरल मिटिङ एण्ड कन्फ्रेन्समा’ सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो आग्रह गरेका हुन् ।
जलविद्युत्, साना उद्योग, कृषि, पयर्टनलगायत क्षेत्रमा लगानी बढाउने उद्देश्यले सरकारले नीतिगत व्यवस्था गरिरहेकाले ती क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने बताए । पछिल्ला वर्षहरूमा नेपालमा जलविद्युत् लगायत क्षेत्रमा विदेशी लगानी बढिरहेको पनि उनले बताए ।
‘विश्व बैंक, एडीबीलगायत दातृ निकायहरुले पनि नेपालको जलविद्युत् आयोजनामा ठूलो लगानी गर्ने प्रतिबद्धता देखाएका छन्,’ उनले भने । केही महिना अघि मात्र भारतले १० वर्षमा १० हजार मेगावट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएकाले आफूहरुलाई विद्युत् उत्पादनमा प्रोत्साहन मिलेको उनको भनाई थियो । यस्तै, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गरेका छन् ।
यही कारण ०७२ सालको विनासकारी भूकम्प, विश्वव्यापी रुपमा फैलिकैको कोभिड संक्रमणको बेला पनि वित्तीय क्षेत्र नडगमगाई स्थिर रहेको उनले बताए । संक्रमणका कारण उद्योग व्यवसाय प्रभावित भएको समयमा पनि राष्ट्र बैंकको नीति र बैंकिङ क्षेत्रको सक्रियताकै कारण अर्थतन्त्र छिट्टै लयमा फर्किएको उनको भनाइ थियो ।