कठमाडौं, भदौ ३ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार साउनमा ६० वटा उद्योगमा उक्त रकम बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो।विभागका अनुसार सबैभन्दा बढी लगानी प्रतिवद्धता ५४ वटा साना उद्योग, ४ वटा मध्यम र २ वटा ठूलो उद्योगमा लगानी प्रतिवद्धता आएको हो ।
पर्यटनमा २८.४६ प्रतिशत, सेवामा २६.४३ प्रतिशत, उत्पादनमा ४.७ प्रतिशत, सूचना तथा प्रविधि र कृषिमा १.२, १.२ प्रतिशत विदेशी लगानी प्रतिवद्धता भएको विभागले बताएको छ । गत आर्थिक वर्षको साउन महिनामा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ बराबरको मात्रै विदेशी लगानी प्रतिवद्धता भएको थियो । गत आर्थिक वर्ष कुल ३२७ वटा उद्योगमा ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता भएको थियो ।
गत आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । कुल ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ देखिएको हो ।