काठमाडौं, भदौ १८। कोरोना महामारीले घटेका चिनियाँ पर्यटक फेरि बढ्न थालेका छन् । चीन सरकारले १५ मार्च २०२३ देखि आफ्ना नागरिकका लागि निर्बाध घुम्न पाउने गन्तव्य राष्ट्रमा सूचीकृत गरेसँगै चिनियाँ बढ्न थालेका हुन् । सन् २०२३ को जुलाई र अगस्ट महिनामा सबैभन्दा धेरै पर्यटक आउनेमा भारतीयपछि चिनियाँ दोस्रो नम्बरमा रहेका छन् । जुलाईमा पाँच हजार ६ सय ९३ र अगस्टमा पाँच हजार २७ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ ।
कोरोनाअघि पनि भारतीयपछि सबैभन्दा धेरै पर्यटक आउनेमा चिनियाँ नै थिए । सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक भित्रिँदा चिनियाँको संख्या १ लाख ६९ हजार थियो । सो वर्ष भारतबाट दुई लाख ५४ हजार पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । कारोनापछि चीनले आफ्ना नागरिकलाई भ्रमणमा कडाइ गरेपछि चिनियाँ पर्यटकको संख्या करिब ‘शून्य’मा झरेको थियो । महामारी कम हुँदै गएसँगै चीन सरकारले आउटबाउन्ड खुला गरेसँगै चिनियाँ पर्यटक बढ्दै गइरहेको तथ्यांकले देखाउँछ । यस वर्षको जनवरीदेखि अगस्टसम्म ८ महिनामा ३० हजार ८ सय ३७ चिनियाँ पर्यटक नेपाल आएका छन् ।
यस अवधिमा सबैभन्दा धेरै दुई लाख १५ हजार ६ सय २७ पर्यटक भारतबाट भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार ८ महिनामा विभिन्न देशबाट कुल ६ लाख एक हजार पर्यटक भित्रिएका थिए । जसमा एकतिहाइभन्दा बढी हिस्सा भारतीय पर्यटकको छ। जनवरीदेखि जुन महिनासम्म नेपालमा आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय, दोस्रोमा अमेरिकी, तेस्रोमा ब्रिटिस, चौथोमा चिनियाँ र पाँचौँमा अस्ट्रेलियन रहेका थिए । तर, पछिल्लो दुई महिना जुलाई र अगस्टमा चिनियाँ पर्यटक बढेपछि चीन दोस्रो स्थानमै फर्किएको छ ।
पर्यटन बोर्डका अनुसार जनवरीमा एक हजार चार सय ३६, फेब्रुअरीमा दुई हजार दुई सय ६६, मार्चमा दुई हजार दुई सय ६६, अप्रिलमा चार हजार सात सय ७०, मेमा चार हजार ६ सय ६७, जुनमा चार हजार तीन सय ४३, जुलाईमा पाँच हजार ६ सय ९३ र अगस्टमा पाँच हजार २७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ। चीन र भारत विश्वकै धेरै जनसंख्या बसोवास गर्ने देश हुन् । यी देशबाट ठूलो संख्यामा मान्छेहरू विदेश घुम्न निस्कन थालेका छन् ।
नेपाल भ्रमणमा आउने चिनियाँ खर्चालु पर्यटकमा गनिएका छन्। नेपालबाट नजिकैको दूरीमा रहेको र सीधा उडानको व्यवस्था पनि भएकाले चिनियाँहरू अफसिजनमा पनि नेपाल भ्रमणमा आउने गर्छन्। साथै, चिनियाँहरूले प्याराग्लाइडिङ, पदयात्रा, बन्जी, जिपलाइनलगायत विभिन्न गतिविधिमा मोटो रकम खर्चिने गरेको पर्यटन व्यवसायी बताए ।