काठमाडौँ । असोज पहिलो साता काठमाडौंको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । ‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आगामी असोज २ देखि ५ गतेसम्म तदनुसार सेप्टेम्बर १८ देखि २१ सम्म एक्स्पो आयोजना गर्न लागेको हो । काठमाडौं एक्स्पोको लञ्चिङ कार्यक्रमको आयोजना गरि आयोजकले एक्स्पोमा पहिलो पटक खुला बजार समेत सञ्चालन गर्न लागिएको जनाएको छ । इभेण्ट लञ्चिङकै दिनदेखि एक्स्पोको स्टल बुकिङ खुला गरिएको छ ।
पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बुकिङ खुला गरिएकोमा कार्यक्रमस्थलमा नै ५० प्रतिशत स्टलहरु बुकिङ भएका छन् । हरेक वर्ष एक्स्पोमा आकर्षण बढ्दा फर्नेक्स नेपाल राम्रो ब्राण्डका रुपमा स्थापित भएकाले लञ्चिङकै दिन स्टल बुकिङमा आकर्षण देखिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको अग्रवालको भनाई छ ।