Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अन्तरबैंकको ब्याजदर ३ प्रतिशतमा झर्‍यो, बैंकिङ्ग प्रणालीमा थुप्रियो सवा ४ खर्ब


अन्तरबैंकको ब्याजदर ३ प्रतिशतमा झर्‍यो, बैंकिङ्ग प्रणालीमा थुप्रियो सवा ४ खर्ब

काठमाडौं, असोज ४ । पछिल्लो समयको अन्तरमा बैंक कारोबारको ब्याजदर निरन्तर घटेको छ । बैङ्कहरूमा तरलता सहज हुँदै गएपछि अन्तर बैङ्क कारोबारको ब्याजदर पनि घट्दै गएको हो । हाल अन्तर बैङ्क ब्याजदर ३ प्रतिशत बिन्दुको लाइनमा झरेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार अहिले यस्तो ब्याजदर ३.०८ प्रतिशत कायम भएको छ । केही साता अघिसम्म यस्तो ब्याजदर ६ प्रतिशतभन्दा माथि रहेको थियो । विशेषगरि बैङ्कहरूमा तरलता बढ्दै गएपछि अन्तर बैङ्क ब्याजदर घटेको हो ।

खासगरि स्थानीय तहको रकम निक्षेपको रूपमा बैंकिङ्ग प्रणालीमा भित्रिएपछि अन्तरबैंक ब्याजदर निरन्तर घटिरहेको छ । सरकारले गत भदौ २४ गतेदेखि स्थानीय तहको पैसालाई निक्षेपको रूपमा गणना गर्न दिएको छ । सरकारको निर्णयपछि नै बैंकिङ्ग प्रणालीमा ६० अर्बभन्दा बढी रकम थपिएको छ । स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने भएपछि नै अन्तरबैंक ब्याजदर पनि घट्दै गएको हो । हाल बैङ्क तथा वित्तीय संस्थाहरूसँग ५७ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थामा निक्षेप थपिने क्रम नै छ । तर, कर्जा लगानी भने त्यत्ति बढ्न सकेको छैन । राष्ट्र बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४९ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । यता, वाणिज्य बैङ्कहरूको कुल निक्षेप सङ्कलन पनि ५० खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी भने ४३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । हाल वाणिज्य बैङ्कहरूसँग सवा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । तर, कर्जा लगानी भने सुस्त छ । बैंकिङ्ग प्रणाली लगानी योग्य बढ्दै गए पनि कर्जा प्रवाह नहुँदा अन्तर बैंक ब्याजदर घट्दै गएको हो । हाल यस्तो ब्याजदर राष्ट्र बैङ्कले तोकेको अर्थात् राखेको सीमाभन्दा तल झरेको छ ।

नियामकले ब्याजदर करिडोर अन्तर्गत माथिल्लो सीमा ७.५ प्रतिशत कायम गरेको । यता, ४.५ प्रतिशतको निक्षेप सङ्कलन दरलाई तल्लो सीमा कायम गरेको छ । बैङ्कहरूमा तरलता कम हुँदा यस्तो ब्याजदर माथिल्लो सीमामा पुग्ने गर्छ । तर, धेरै हुँदा तल्लो सीमामा झर्ने गर्छ । केही महिना अघिसम्म बैङ्कहरूमा तरलता अभाव हुँदा निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यस बेला बैङ्कहरूले एक अर्कामा सापटी लिने पैसाको ब्याजदर अर्थात् अन्तर बैङ्क ब्याजदर पनि बढेको हो ।